शुक्रबारबाट सुरु भएको वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ।
शुक्रबार राति भएको खेलमा अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा सजिवन सजनाले छक्का प्रहार गर्र्दै मुम्बईलाई दिल्ली क्यापिटल्समाथि ४ विकेटको जित दिलाइन्। उनको त्यो वुमन्स प्रिमियर लिगको पहिलो बल थियो।
बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा मुम्बईले ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो।
मुम्बईका लागि कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेले। भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन्।
यस्तै कप्तान कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् भने अमेलिया केरले १८ बलमा २४ रन बनाइन्। नाट सेभरले १९ रन जोडेकी थिइन्। दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको दिल्लीका लागि एलेस केप्सेले ५३ बलमा ७५ रनको उत्कृष्ट धुवाँधार पारि खेलिन्। उनले तीन छक्का र आठ चौका प्रहार गरिन्।
यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन्। दिल्लीका लागि नाट सेभर र अमेलिया केरले समान २ विकेट लिए।