कोशी प्रदेश राष्ट्रिय क्रिकेटमा पुलिस र आर्मी विजयी

10 Mar, 2024

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन्।

बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरि ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५ चौेका प्रहार गरि ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरि ४० रनको योगदान दिए।

पुलिसका लागि अविशेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले समान १–१ विकेट लिए।

जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। पुलिसका लागि शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गर्र्दै नटआउट ५१ रन बनाए।

यस्तै, अमित श्रेष्ठले २८, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए। गण्डकीका अमृत गुरुङ र सन्दिप पराजुली समान २ विकेट लिए।

आइतबार नै भएको दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले हरायो। आर्मीले लगातार दोस्रो जित हो।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १५३ रनको योगफल तयार पारेको थियो। मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरि ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए। आर्मीका नितेश पटेलले ४ विकेट लिए।

जवाफमा १५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो। आर्मीकोे जितमा त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै अविजित ६० रन बनाए।

त्यस्तै सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरि ५७ रन र टुल थापाले १९ रनको योगदान दिए। मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले १–१ विकेट लिए।

सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु छोली कोशी र एपिएफविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।