एनआरटी बन्यो बुढासुब्बा गोल्डकपको च्याम्पियन

16 Mar, 2024

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी)ले जितेको छ। धरान रंगशालामा आज भएको फाइनल खेलमा एन्फा मोरङलाई २–१ ले हराउँदै एनआरटी च्याम्पियन बनेको हो।

एनआरटीले १६ वर्षपछि बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो। यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो।

खेलको सातौँ मिनटमा एनआरटीका अफिज ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले रोशन रानाको पासमा गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए।

विजेता एनआरटीले १० लाख र उपविजेता एन्फा मोरङले ५ लाख रुपैयाँ पायो।

प्रतियोगिताको उकृष्ट खेलाडी एनआरटीका सनम लिम्बू भए। उनले २ लाख रुपैयाँ प्राप्त गरे। यस्तै, वेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, वेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए। उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।