विभागीय टोली त्रिभुवन आर्मी क्लब १४ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
इटहरी रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङलाई पेनाल्टी शुटआउटमा २–१ हराएर आर्मी उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि सिधै पेनाल्टी शुटआउटमा धकेलिएको थियो ।
आर्मीको जितमा गोलकिपर विकेश कुथु नायक बने । उनले सगरमाथाका तीन पेनाल्टी बचाए । उनले क्वाटरफाइनलमा पनि बिर्तामोड युनाइटेडका तीन पेनाल्टी रोकेका थिए । विकेशले विजय भुजेल, स्टेफन समीर विनोङ र प्रिसोको प्रहार रोके । दिवाकर चौधरीले मात्र गोल गरे । विमल घर्तीमगरको प्रहार बारिरियो ।
आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरियो । जितेन्द्र कार्कीको पेनाल्टी सगरमाथाका गोलकिपर प्रिसोले रोकेका थिए ।
बुधबार म्यान अफ द म्याच गोलकिपर विकेश चुनिए । उनले १० हजार पाए । यो जितसँगै आर्मीले १२ औं संस्करण फाइनलमा सगरमाथासँग बेहोरेको हारको बदला लिएको छ । त्यतिबेला फाइनलमा सगरमाथाले आर्मीलाई पेनाल्टी शुटआउटमै ४–३ ले हराएर उपाधि जितेको थियो ।
यसपालि सगरमाथाको लगातार तेस्रो जित निकाल्दै उपाधिमाथि ह्याटिक गर्ने लक्ष्य सेमिफाइनलमै टुंगिएको छ । बिहीबारको सेमिफाइनलमा गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड काठमाडौं र आयोजक राष्ट्रिय जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ ।