बायर्नमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

9 May, 2024

स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको बर्नाबेउमा जर्मन क्लब बायर्न म्युनिखमाथि २–१ उत्कृष्ट पुनरामगन जित निकाल्दै रियल फाइनलमा पुगेको हो।

१४ पटक उपाधि जितेको रियलको यो १८औं फाइनल यात्रा हो। अब उसले १५औं उपाधिका लागि जुन १ मा बेम्बलीमा अर्को जर्मन क्लब बोरुसिया डर्टमन्डको सामाना गर्नेछ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बायर्नले अग्रता लियो। ६८औं मिनेटमा ह्यारी केनको पासमा अल्फन्सो डेविसले उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

तर, ८८औं मिनेटमा गोलकिपर इमानुअल नुयरको गल्तीको फाइदा उठाउँदै रियलले बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले प्रहार गरेको सहज बल पक्रन खोज्दा नुयरको हातबाट फुत्किएपछि जोसेलुले गोल गरेका थिए।

त्यसको ३ मिनेटपछि नै जोसेलुले नै रियललाई अग्रता दिलाए। इन्जुरी समयको पहिलो मिनेटमा एन्टोनी रुडिगरले उपलब्ध गराएको पासमा जोसेलुले गोल गरेका थिए।

इन्जुरी समयको अन्त्यतिर बार्यनले पनि गोल गरेको थियो। तर, त्यसलाई लाइन्सम्यानले पहिला नै अफसाइटको झण्डा उठाएकाले त्यसले गोलको मान्यता पाएन। बायर्नका खेलाडीले अफसाइड नभएको अपिल गरेपछि रेफ्रिले भार भने हेरेनन्।