इंग्लिस प्रिमिर लिग (इपिएल)को यो सिजनको उत्कृष्ट खेलाडीको अवार्डका लागि नोमिनेशन सार्वजनिक भएको छ।
बिहीकार राति सर्वाजनकि भएको नोमिनेशन अनुसार म्यान्चेस्टर सिटीका फिल फोडेन, अर्लिङ हालान्ड, आर्सनलका मार्टिन ओडेगार्ड, डेक्लन रइस, चेल्सीका कोल पाल्मर, लिभरपुलका भिर्गिल भान डाइक, एस्टन भिल्लाका ओली वाट्किन्स र न्युकासलका अलेकजान्डर इसाकबीच उत्कृष्ट खेलाडीका प्रतिस्पर्धा हुने भएको छ।
त्यसमध्ये पनि फोडेन, हालान्ड, पाल्मर र ओडेगार्ड यो अवार्डका मुख्य दाबेदार हुन्।
सिटीलाई लगातार चौथो उपाधितर्फ अग्रसर गराउन फोडेन र हालान्डको भूमिका महत्वपूर्ण छ। फोडेनले यो सिजन १६ गोल र ८ असिस्ट गरेका छन् भने इपिएलको गोल्डेन बुटको दाबेदारीमा अग्रता स्थानमा रहेका हालान्डले २५ गोल र ५ असिस्ट गरेका छन्।
यता, चेल्सीले यो सिजन खराब प्रदर्शन गरेपनि युवा विंगर पाल्मर भने यो सिजन निकै उत्कृष्ट लयमा छन्। उनले गोल्डन बुटको रेसमा हालान्डलाई दबाब दिइरहेका उनले २१ गोल र ९ असिस्ट गरेका छन्। चेल्सीमा उनको पहिलो सिजन हो।
आर्सनलका कप्तान ओडेगार्डको प्रदर्शन पनि यो सिजन उत्कृष्ट छ। केही दबाबपूर्ण खेलहरुमा गोल गर्दै टिमलाई जित दिलाउँदै उपाधि यात्रामा टिमलाई कायम राख्न उनको भूमिका महत्वपूर्ण छ। उनले यो सिजन ८ गोल र ८ असिस्ट गरेका छन्।
यता, उत्कृष्ट प्रशिक्षकका लागि सिटीका पेप ग्वार्डिओला, आर्सनलका मिकेल अर्टेटा, लिभरपुलका योर्गेन क्लोप, एस्टन भिल्लाका उनाई एमेरी र बोर्नेमाउथका एन्डोनी इराओलाबीच प्रतिस्पर्धा हुने भएको छ।