सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

कृतिकाले ४ बलमा ४ विकेट लिएपछि बागमतीमाथि ललितपुर ११को जित

मेयर्स कप वुमन च्याम्पियनसिप क्रिकेटमा आयोजक ललितपुर ११ ले विजयी सुरुआत गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा कृतिका मरासिनीले ४ बलमा ४ विकेट लिएपछि ललितपुर ११ले बागमती प्रदेशलाई ७ विकेटले हरायो।

बागमतीले दिएको ५३ रनको सामान्य लक्ष्य ललितपुरले १३.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि पूजा महतो ३० बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाइन्। मा नट आउट रहिन् ।

लक्ष्मी चौधरी ७ बलमा ३ चौकासहित १२ रनको योगदान दिइन्। बलिङमा बागमतीका खुसी डंगोलले १ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ रोजेको बागमती कृतिकाको घातक बलिङसामू १४.२ ओभरमा ५२ रनमा अल भयो । उसका लागि कप्तान अश्मिना कर्माचार्यले २६ बलमा ३ चौकासहित सर्वाधिक २० र कञ्चन श्रेष्ठ ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा समेट्ने क्रममा कृतिकाले ४ बलमा ४ विकेट लिइन्। उनले १२औं ओभरको चौथो बलमा खुसीलाई बोल्ड गरेकी थिइन् भने पाँचौं बलमा विपिशा शाही र छैटौं बलमा मनिषा उपाध्यायलाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। १४औं ओभरको पहिलो बलमै अश्मिना कर्माचार्यलाई बोल्ड गर्दै लगातार चार बलमा चार विकेट लिइन्।

उनले २ ओभरमा ४ रन खर्चेर ४ विकेट लिइन्। यस्तै, सरस्वतीकुमारी चौधरीले ३ र पूजा महतोले २ विकेट लिइन्।

आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा ललितपुर ११ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा कोशी र एपीएफ भिड्नेछन् ।

1.3Kशेयर