दिल्लीलाई झट्का, ऋषव पन्तमाथि लाग्यो १ खेलको प्रतिबन्ध

11 May, 2024

जारी आईपिएलको प्लेअफमा पुग्न संघर्ष गरिरहेको दिल्ली क्यापिटल्सलाई झट्का लागेको छ। कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तमाथि १ खेलको प्रतिबन्ध लागेपछि दिल्लीलाई झट्का लागेको हो।

स्लो ओभर रेटका कारण आईपिएलले ऋषवमाथि प्रतिबन्ध लगाएको हो। गत मंगलबार राजस्थान रोयल्सविरुद्ध खेलमा अन्तिम ओभर सुरु हुने निर्धारित समयभन्दा १० मिनेट ढिला भएपछि आईपिएलले ऋषवमाथि १ खेल प्रतिबन्धका साथै ३० लाख भारु जरिवाना पनि तोकेको छ।

यो सिजन तेस्रो खेलमा स्लो ओभर रेटमा परेपछि ऋषवमाथि प्रतिबन्ध लागेको हो। यसअघिका दुई खेलमा उनलाई जरिवाना मात्रै तिराइएको थियो।

प्रतिबन्धपछि ऋषवले आइतबार हुने रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्धको खेल गुमाउने छन्। यसले दिल्लीमाथि दबाब थपेको छ।

जारी आईपिएलमा दिल्ली १२ खेलमा १२ अंक नै जोड्दै पाँचौं स्थानमा छ। प्लेअफमा स्थान सुरक्षित गर्न अब उसले बाँकी दुवै खेल जित्नुपर्ने छ।

आफ्ना इनफर्म खेलाडी नै प्रतिबन्धमा परेपछि दिल्लीको प्लेफमा पुग्ने सम्भावना पनि केही कमजोर बनेको बताइन्छ।