सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

16 May, 2024

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन्।

सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो शेयर गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘म त्यो दिन कहिल्यै भुल्ने छैन, जब पहिलो पटक मैले देशका लागि खेल्ने मौका पाएको थिएँ।’

उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए। पहिलो खेलमै उनले गोल समेत गरेका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा क्रिष्टियानो रोनाल्डो (२०५ खेलमा १२८ गोल) र लिओनल मेस्सी (१८० खेलमा १०६ गोल) पछि धेरै गोल सुनिलले गरेका छन्। उनले १५० खेलमा ९४ गोल गरेका छन्।

उनले त्यस क्षणलाई आफूले कहिल्यै नबिर्सिने र राष्ट्रिय टिमको यात्रामा सबैभन्दा यादगार रहेको बताए।

क्षेत्रीले आफ्नो फुटबल करियर सन् २००२ मा कोलकत्ताको मोहुन बगान टिमबाट सुरू भएको थियो। उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन्।