नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिप २०२४ मा अपराजित रहँदै फाइनल खेल्ने भएको छ।
बिहीबार एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै समूह चरणमा चारै खेल जितेर फाइनलमा पुगेको हो।
११२ रनको लक्ष्य पछ्याएको एपीएफले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। एपीएफको जितमा ममता चौधरी ३४ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन्।
सरिता मगर ३० बलमा ३ चौकासहित १९, रोमा थापा २३, राजमति ऐरी ११, सीता रानामगर ५ र इन्दु बर्मा ४ रनमा आउट भइन्।
सुदूरपश्चिमकी लक्ष्मी साउदले २, जानकी थापा, कविता जोशी, ऋतु कनौजिया, स्नेहा महरा र विन्दु रावलले १–१ विकेट लिइन्।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
कप्तान बिन्दु रावलले ५१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाइन्। रूवी पोद्दारले ३६ बलमा ४ चौकासहित तथा कविता जोशी २८ बलमा २ चौकासहित २९–२९ रन बनाइन्। एपीएफकी रेखा रावल र इन्दू बर्माले १–१ विकेट लिए।
एपीएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ।
सुदूरपश्चिमले शुक्रबार बागमतीसँग खेल्ने छ। उक्त खेलमा विजयी भएमा सुदूरपश्चिम फाइनलमा पुग्नेछ। सुदूरपश्चिम बागमतीसँग पराजित भएमा अन्य टोलीको नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ।
बागमती ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ।