युरोपा लिग फाइनल आज, अपराजित लेभरकुसुन र एट्लान्टा भीड्दै

22 May, 2024

युरोपा लिग फुटबलको फाइनल आज राति हुँदैछ। आयरल्यान्डको डब्लिनमा हुने फाइनलमा यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसनले इटालिनय क्लब एट्लान्टाको सामना गर्ने छ।

बायर लेभरकुजनका जाभी अलोन्सोले फाइनलमा आफूलाई नयाँ पुस्ताको उम्दा प्रशिक्षक रहेको फेरि साबित गर्न सक्नेछन्। तर, त्यसका लागि लेभरकुसनले एटलान्टालाई हराउनु पर्नेछ।

सिरी ‘ए’ क्लबका प्रशिक्षक जियान पिएरो गास्पेरिनी आफैं भने निकै अनुभवी छन्।

लेभरकुजनले क्लब इतिहासमै पहिलो पटक जर्मन बुन्सडेलिगा जितेको छ। अहिलेसम्म पूरा सिजन अपराजित छ। सबैखाले प्रतियोगितामा गरेर लेभरकुजनको अपराजित खेलसंख्या ५१ भइसकेको छ।

यसै सातामात्र लेभरकुजन दुई फाइनल खेल्दै छ। युरोपा लिगको बुधबार उपाधि भिडन्तपछि शनिबार जर्मन कपको फाइनलमा दोस्रो डिभिजनको काइजस्लर्टनको सामना गर्नेछ। यसमा उपाधिका लागि लेभरकुजन नै बलियो प्रत्याशी छ।

तर, युरोपा लिगको फाइनलको कथा त्यस्तो हुने छैन । एटलान्टा स्वयं पनि क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट लयमा छ । त्यसैले सबै उत्साही छन्। गास्पेरिनी आएपछि एटलान्टाले राम्रो गरिरहेको छ । पछिल्ला ५ वर्षमा चौथोपल्ट युरोपेली च्याम्पियन्स लिग खेल्दै छ ।

जत्तिकै राम्रो खेले पनि एटलान्टाले उपाधि भने जित्न जानेको छैन । पछिल्लो ६ सिजनमा एटलान्टाले तीनपल्ट इटालियन कपको फाइनलमा हार बेहोरेको छ । पछिल्ला ६१ वर्षयता कुनै उपाधि जित्न सकेको छैन । एकै साताअगाडि मात्रै एटलान्टा इटालियन कपको फाइनलमा युभेन्ट्ससँग पराजित थियो ।

एटलान्टा स्वयंका लागि उनी आउँदा रेलिगेसनबाट बच्नु नै ठूलो थियो । अहिले युरोपेली फुटबलमा नियमित खेलिरहेको छ । यसपल्ट पनि फाइनल प्रवेशका क्रममा एटलान्टाले उत्कृष्ट प्रदर्शन गरेको छ ।

खेलाडीका रूपमा गास्पेरिनी औसतभन्दा तल्लो स्तरका रहे । तर, अलोन्सोले खेलाडीको रूपमा सबथोक जिते, विश्वकपदेखि एकभन्दा बढी अवसरमा युरोपेली च्याम्पियन्स लिग जितेका छन्।

अब्बल दर्जाको फुटबल खेलेका अलोन्सोले अहिले जस्तो उत्तिकै अविश्वसनीय सिजन भने बिताएका छैनन्।

‘यो त साँच्चै ऐतिहासिक नै हुनेछ,’ टिम पूरा सिजन अपराजित रहने सम्भावनाबारे बोल्दै उनी भन्छन्, ‘यस्तै भयो भने यसलाई स्वर्णाक्षरले लेख्नुपर्नेछ । यो इतिहास क्लबको मात्र हुने छैन, पूरा युरोपेली क्लब फुटबलकै हुनेछ । विश्वास गरौं, यस्तै हुनेछ ।’