आइसीसी टी–२० विश्वकपमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ। मंगलबार बिहान भएको खेलमा अफगानिस्तानले युगान्डामाथि१२५ रनको सानदार जित निकाल्यो।
अफगानिस्तानले दिएको १८४ रनेको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५८ रनमै अलआउट भयो। यो विश्वकपको चौथो कम स्कोर हो।
युगान्डाका रोविनसन ओबुयाले सर्वाधिक १४ रन जोड्दा रिजत अलि साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए। चार खेलाडीले खाता पनि खोल्न सकेनन्।
युगान्डालाई सस्तैमा रोक्ने क्रममा फजलहक फारुकीले ५ विकेट लिए। उनले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए। यो जारी विश्वकपको उत्कृष्ट स्पेल हो। नविन उल हक र रासिद खानले समान २ विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो। दुवै ओपनरले १५४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई उत्कृष्ट सुरुआत दिलाए।
इब्राहिम जर्दानले ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७० रन बनाए भने रमनुल्लाह गुर्वाज ७६ रन जोडे। उनले चार चौका र चार छक्का प्रहार गरे। मोहमद नावी १४ तथा कप्तान राशिद खान २ रनमा नटआउट रहे।
युगान्डाका कसमस केयुटा र बरिन मसाबाले समान २ विकेट लिए ।