सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

जब क्यान अध्यक्ष टिम डाक्टर बनेर अमेरिका उडे…

नवौं संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन्।

उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिनै अमेरिका उडेको खुलासा भएको छ।

टी–२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ । टोलीमा १५ खेलाडी अनिवार्य हुनुपर्छ भने अन्य व्यवस्थापकीय जनशक्ति सहभागी रहन्छन् । प्राप्त लिस्टमा २५ सदस्यीय टोलीमा अध्यक्ष चन्द समेत अटाएका छन्।

क्यान उपाध्यक्ष रोशन सिंहका अनुसार चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका उडेका हुन्। अर्थात् उनी टिम डाक्टर भएर अमेरिका गएका हुन्। नेपाली टिमभित्र रहेर प्रतियोगिता हेर्न जाने चन्द क्यानका पहिलो अध्यक्ष हुन्।

यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टंक पनेरु विवादमा परेका थिए। यसपटक अध्यक्ष चन्द आफैंले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन्, त्यो पनि पत्नीसहित!

आइसीसीले दिएको २५ जनाको कोटामा अध्यक्ष चन्द गएको क्यान उपाध्यक्षले पुष्टी रोशन सिंहले गरेका छन्।

‘आर्ईसीसीको गाइडलाईन अनुसार टोलीमा एकजना डाक्टर अनिवार्य हुनुपर्ने भनिएको थियो। मैले अध्यक्षलाई २५ जनाको कोटामा नजान आग्रह गरेको थिएँ । मैले बोर्डबाट निर्णय गराएर अध्यक्षको कोटामा जानुभन्दा मान्नुभएन,’ उनले भने, ‘अमेरिका गएपछि मलाई फोन गरेर मैले बुझिन सचिव (पारस)ले बर्बाद पार्यो भनेर उहाँ (अध्यक्ष)ले फोन गर्नुभएको थियो। अध्यक्षलाई गुमराहमा पारेर पठाइएको रहेछ। अहिले उहाँले नै आत्मग्लानी महसुश गरिरहनुभएको छ।’

टिममा डाक्टर नहुँदा उहाँ (अध्यक्ष) जानु त डाक्टर कै रुपमा गएको बुझिने उनले बताए।

अफिसियल टोलीमा चन्द बाहेक प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन्।

आईसीसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन। (नेपाल न्यूज बैंक)

सेयर गर्नुहोस्

1.6KShares