नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका बाहिरियो, नेपालको आशा कायमै

12 Jun, 2024
Share:
117 Shares

टि–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। योसँगै दुवै टोलीले एकरएक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार वर्षा भएपछि डाउडेरहिल रंगशालामा हुने भनिएको खेल टस नै नभई रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।

नेपालसँग अंक बाँडेसँगै श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो। यसअघिका दुई खेलमा श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो।

यता, २ खेलमा १ अंक जोडेको नेपालको सम्भावना भने कायमै छ। अब बाँकी २ खेलमा जित हान पार्न सके नेपाल सुपर एक पुग्न सक्ने छ। तर, त्यो निकै कठीन छ। अब नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो।

नेपाल र श्रीलंकाबीचको खेल हेर्न नेपाली समर्थकको बाक्लो उपस्थिति थियो। तर, खेल नभएपछि दर्शकहरु निशास भएर फर्किएका थिए। नेपाल र श्रीलंकाका दुवै टिमका खेलाडीले समर्थकलाई धन्यवाद दिएका थिए।

आईसीसीले सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखेको छ।