यी हुन् युरोकपका स्टार

14 Jun, 2024
Share:
117 Shares

युरोकप २०२४ आज रातिबाट सुरु हुँदैछ। म्युनिखको एलिनाज एरिनामा राति १२ः४५ बजे घरेलु टोली जर्मनी र स्कटल्यान्डबीचको खेलसँगै नयाँ युरोपियन च्याम्पियनको खोजी सुरु हुनेछ।

जारी युरोकपमा क्रिस्टियानो रोनाल्डोदेखि रोबर्ड लेवान्डोस्की, केभिन डेब्रुयनाजस्ता स्टार खेलाडीको खेल कौशल देख्न पाइनेछ। सम्भवतः अन्तिम पटक युरोकप खेलिरहेका ३९ वर्षीय रोनाल्डोले यो प्रतियोगितामा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्, र जर्मनीमा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाउने छन्।

यहाँ हामी पछिल्ला केही सिजन यता दर्शकको ध्यान खिच्न सफल भएका केही उदीयमान स्टार खेलाडीहरुको बारेमा चर्चा गर्नेछौं ।

केलियन एमबाप्पे (फ्रान्स)

विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम हो केलियन एमबाप्पे। लगातार दुई पटक विश्वकपको फाइनल खेलेका एमबाप्पे फ्रान्सका लागि आशलाग्दा खेलाडी हुन्।

पछिल्लो समय लयमा देखिएका एमबाप्पे यो पटक युरोकपमा फ्रान्सको टिमको कप्तानी गर्ने छन्। २५ वर्षी टेकेका एमबाप्पे ड्रिब्लिङ, तीव्र गति र अचूक फिनिसिङका लागि विश्व फुटबल जगतमा परिचित छन्। फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ । यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्ने पक्का छ । एमबाप्पे यस प्रतियोगिताभर हेर्न लायक भूमिकामा रहनेमा दुई मत छैन।
गत सिजन पेरिस सेन्ट जर्मेन ९पीएसजी० का लागि ४४ गोल गरेका एमबाप्पेले अबको सिजन रियल म्याड्रिडका लागि खेल्दै छन् ।

जुड वेलिङ्घम, इंग्ल्यान्ड

फ्रान्सपछि युरो कप २०२४ को उपाधिका लागि अर्को बलियो दाबेदार हो, इंग्ल्यान्ड । अघिल्लो पटकको फाइनलिस्ट इंग्ल्यान्ड यो पटक च्याम्पियन बन्ने हो भने त्यसमा २० वर्षीय डिफिल्डर जुड बेलिङ्घमको भूमिका महत्वपूर्ण हुनेछ।

यी मिडफिल्डर चाहिएका बेला गोल निकाल्न खप्पिस छन् । रियलका लागि पहिलो सिजन उनले १८ गोल गरे । यी गोल पनि कस्ता भने खेलको ‘पासा’ नै पल्टाउने खाले । फेरि यी २० वर्षीय खेलाडीमा नेतृत्वको गुण रहेको मानिन्छ  । अझ उनको सबैभन्दा ठूलो सम्पत्ति भनेकै ‘विनिङ मेन्टालिटी’ हो । हारको स्थितिमा पनि जित निकाल्न सक्ने क्षमता ।

फ्लोरिन विर्ट्ज, जर्मनी

युरोकप २०२४ को आयोजक राष्ट्र हो, जर्मनी । कुनै समय विश्व फुटबलको महाशक्तिका रुपमा प्रदर्शन गर्दै आएको जर्मनीका लागि पछिल्ला केही वर्ष सुखद हुन सकिरहेका छैनन् । तर, आयोजक राष्ट्र भएकै कारणले जर्मनीलाई नकार्न भने सकिँदैन ।

पछिल्लो दई विश्वकपमा पहिलो चरणबाटै आउट भएको जर्मनीका लागि बलियो कमब्याक गर्ने अवसर पनि बन्न सक्छ, युरोकप २०२४।

यसै टोलीमा छन्, दुर्लभ प्रदर्शन गर्ने फुटबलर फ्लोरिन विर्ट्ज । उनी जस्तोसुकै समयमा पनि टोलीका लागि अवसर सिर्जना गर्ने खेलाडीका रुपमा चिनिँदै आएका छन् । यस प्रतियोगितामा उनको प्रदर्शन हेर्न लायक हुने ।

फिल फोडेन, इंगल्याण्ड

फिल फोडेनले भर्खरै म्यानचेस्टर सिटीका लागि उल्लेखनीय सिजन समाप्त गरेका छन् । उनले १९ गोल गर्दै प्रिमियर लिगको उपाधि जिताएका थिए । त्यति मात्र होइन, उनी प्लेयर अफ दि सिजन समेत चुनिएका थिए ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको भनाइ मान्ने हो भने विश्व फुटबलमा उनी जत्तिको उत्कृष्ट खेलाडी अचेल पाउनै गाह्रो छ । उनी पनि २३ वर्षे युवा खेलाडी नै हुन् । मिडफिल्डमा खेल्छन् र चाहिएका बेला उनी पनि गोल निकाल्न निपुण छन् ।

फोडेनलाई लिएर एउटा सर्त भने लागू हुन्छ । उनी सिटीका लागि जुन स्थान र भूमिकाबाट खेल्छन्, इंग्ल्यान्डले पनि उही स्थान र भूमिकाबाट खेलाउनुपर्ने हुन्छ । यति भयो भने उनी यसपल्टको युरोका ठूलै स्टार हुनेमा कुनै शंका छैन ।

पेड्रि, स्पेन

यू–१७ देखि स्पेनको राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका युवा खेलाडी पेड्रि गोन्जालेज यस प्रतियोगितामा प्रभाव पार्न सक्ने खेलाडी हुन्। सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने पेड्रि डिफेन्सिभ र स्ट्राइकर लाइन दुबैतिर सहि बल खेलाउन सक्ने क्षमता राख्छन्।

१९ वर्षीय पेड्रि हाल स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनको प्रदर्शन पनि हेर्न लायक हुनेछ।