जारी टि–२० विश्वकपको समूह चरको खेलहरु आजबाट सकिएको छ। आज बिहान भएको समूह चरणको अन्तिम खेलमा आयोजक वेस्टइन्डिजले कीर्तिमानी जित निकाल्यो।
वेस्टइन्डिजले मंगलबार बिहान भएको खेलमा अफगानिस्तानमाथि १०४ रनको कीर्तिमानी जित निकाल्यो। यो टि–२० विश्वकपको सबैभन्दा ठूलो अन्तरको जित हो।
पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा ११४ रनमै अलआउट भयो। उसका लागि इब्राहिम जद्रानले सर्वाधिक ३८ रन बनाउँदा अज्मतुल्लाह ओमरजाइले २३, कप्तान रसिद खानले १८ र करिम जन्नत १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा ओबेड मकोइले ३ तथा गुडाकेश मोटी र अकिल हुसैनले समान २ विकेट लिए।
त्यसअघि निकोलस पुरनले विस्फोटक ब्याटिङ गरेपछि वेस्टइन्डिजले ५ विकेटको क्षतिमा २१८ रन बनायो। यो जारी विश्वकपकै सर्वाधिक ठूलो स्कोल हो। पुरनले ५३ बलमा ६ चौका र ८ छक्का मद्दतमा ९८ रन बनाए।
यस्तै, जोन्सन चार्ल्सले २७ बलमा ८ चौका प्रहार गर्दै ४३ रन बनाए। चार्ल्स र पुरनले तेस्रो विकेटका लागि ३८ बलमा ८० रनको विस्फोटक साझेदारी गरेका थिए। यस्तै, साइ होपले २५ र कप्तान रोभमन पावेलले २६ रनको योगदान दिए।
अफगानिस्तानका गुल्बाद्दिन नइब २ तथा नविन उलहक र ओमरजाइले समान १ विकेट लिए।
पराजयका बाबजुद अफागनिस्तान सुपर ८मा पुगेको छ। सुपर ८मा उनस समूह १मा भारत, अस्ट्रेलिया र अफगानिस्तानसँगै छ। वेस्टइन्डिज इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अमेरिका भएको समूह २मा छ।