हामीमा अनुभवको कमी देखियो, पिच ट्रिकी थियो, ब्याट्सम्यानलाई दोष दिन मिल्दैन : कप्तान रोहित

20 Jun, 2024

नेपाली राष्ट्रिय टिम टि–२० विश्वकप खेलेर बिहीबार स्वेदेश फर्किएको छ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितकुमार पौडेलले टिममा अनुभवको कमीले गर्दा जित नजिक पुगेरपनि पराजित हुनुपरेको बताएका छन्। ११६ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम २ बलमा २ रन बनाउन नसक्दा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

उनले नेपालले खेलेका अमेरिका र वेस्टइन्डिज दुवै ठाउँको मैदान ब्याटिङका लागि निकै गाह्रो भएको बताए। नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिकासँग ११६ र बंगलादेशसँग १०७ रनको लक्ष्प पछ्याउन कसेको थिएन्।

‘ती दवै खेलमा हामीले लक्ष्य पछ्याउन सक्नुपर्ने थियो। तर, अनुभवको कमी देखियो,’ उनले भने, ‘दुवै ठाउँको पिच निकै ट्रिकी थियो, ब्याटिङ गर्न निकै गाह्रो थियो। त्यसैले ब्याट्सम्यानलाई मात्र दोष दिन मिल्दैन।’

बलिङका मद्दत गर्ने पिच भएकाले टेस्ट राष्ट्रका अनुभवी ब्याट्सम्यानहरुले पनि प्रत्येक रनका लागि निकै संघर्ष गरेको उनले बताए। प्रतियोगीताभर नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै उनले ब्याट्सम्यानहरुले अलि जिम्मेवारी लिएर खेलेको टेस्ट राष्ट्रलाई हराउन सकिने बताए।

‘पहिलो गेममा पनि आत्मविश्वास थियो। तर, मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन । सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो । सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ । हामीले वेस्ट १५ खेलाडी लिएर गएका थियौं,’ उनले भने, ‘ब्याट्सम्यानलाई च्यालेन्ज थियो । ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन। बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ। फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौँ। ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’

विश्वकपमा केही कमिकमजोरी भएकाले त्यसलाई सुधार गर्दै अघिबढ्ने बताउँदै खेलाडीलाई इंगित गरेर गाली नगरीदिन समर्थकहरुलाई आग्रह गरे।