इंग्ल्यान्डमाथि सानदार जित निकाल्दै भारत विश्वकपको फाइनलमा

28 Jun, 2024

भारत टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डमाथि ६८ रनको फराकिलो जित निकाल्दै फाइनलमा पुगेको छ।

भारत सन् २०१४ पछि टि–२० विश्वकपको फाइनलमा पुगेको हो। त्योबेला भारत श्रीलंकासँग पराजित भएको थियो।

वर्षा प्रभावित खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमै अलआउट भयो। उसका लागि ह्यारी ब्रुक्सले सर्वाधिक २५ रन बनाए। उनले १९ बलमा ३ चौका प्रहार गरे।

यस्तै, कप्तान जोश बट्लरले १५ बलम ४ चौका प्रहार गर्दै २३ रन बनाए भने जोफ्रा आर्चारले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

इंग्ल्यान्डको इनिङ धरासायी बनाउने क्रममा भातरका अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए। यस्तै, जस्प्रित बुमराहले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले ७ विकेको क्षतिमा १७१ रन बनायो। उसका लागि कप्तान रोहित शर्माले अर्धशतक बनाए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितको जारी प्रतियोगिताको तेस्रो र लगातार दोस्रो अर्धशतक हो।

यस्तै, सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ५० बलमा ७३ रनको साझेदारी गरेका थिए। हार्दिक पाण्ड्याले १३ बलमा १ चौका र २ छक्का मद्दतमा २३ रन बनाउँदा रविन्द्र जडेजाले ९ बलमा १७ रन बनाए।

बलिङमा इंग्ल्यान्डका क्रिस जोर्डन ३ विकेट लिए भने रिस टोप्ली, जोफ्रा आर्चार, साम कुरान र अदिल रसिदले समान १ विकेट लिए।