जर्जियामाथि सानदार जित निकाल्दै स्पेन क्वार्टरफाइनलमा

1 Jul, 2024
Share:
117 Shares

स्पने जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइलनमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा जर्जियामाथि ४–१ सानदार जित निकाल्दै स्पेनले अन्तिम ८मा स्थान पक्का गरेको हो।

स्पेनलाई जित दिलाउन रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले गोल गरे। जर्जियाका लागि रोबिन ले नोर्मान्डबाट आत्मघाती गोल गरेका थिए।

१८औं मिनेटमा रोबिनको आत्मघाती गोलबाट जर्जियाले अग्रता लिएको थियो। काउन्टरमा जर्जिया खेलाडीले गरेको क्रस बचाउने क्रममा नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए। ३९औं मिनेटमा रोड्रीले गोल फर्काए । उनले डिबक्स बाहिरिबाट गोल गरेका थिए। सन् २००० पछि स्पेनले युरोकपमा डिबक्स बाहिरिबाट गरेको यो पहिलो गोल हो।

५१औं मिनेटमा रुइजले गोल गर्दै खेलमा स्पेनलाई अग्रता दिलाए । ७५औं मिनेटमा विलियम्सले गोल गरेपछि स्पेनले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो। ८३औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई ४–१को सानदार जित दिलाए।

स्पेनले अब क्वार्टर फाइनलमा घरेलु टिम जर्मनीसँग खेल्नेछ। जर्मनीले डेनमार्कलाई हराउँदै क्वार्टरफाइनल पुगेको हो।