युरोकपको फाइनल पुग्न स्पने र फ्रान्स भीड्दै

9 Jul, 2024

जर्मनीमा जारी युरोकपको सेमिफाइनल आजबाट सुरु हुँदैछ। पहिलो सेमिफाइनलमा उपाधिका दुई ठूला दाबेदार स्पेन र फ्रान्स भीड्दैछन्। खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजे म्युनिखस्थित म्युनिख एलिनाथ एरिनामा हुनेछ।

प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा स्पेन उपाधिको सबैभन्दा ठूलो दाबेदार हो। युवा र अनुभवी खेलाडीको समिश्रण रहेको स्पेनिस टिमले गज्जबको फुटबल खेलिरहेको छ।

दुई युवा विंगर निको विलिम्स र लामिन यमालको आक्रमणमा गति र स्किल दुवै देख्न सकिन्छ। यी दुई फ्रान्सको डिफेन्सका लागि टाउको दुखाई बन्न सक्नेछन्।

फ्रान्सविरुद्ध उसलाई डिफेन्समा रोबिन डे नोर्मान्ड र ड्यानी कार्भाजल तथा मिडफिल्डमा पेड्रीको अवभाव खड्कन सक्छ। नोर्मान्ड र कार्भाजन प्रतिबन्धमा छन् भने पेड्री चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।

यता, फ्रान्सले भने आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेको छैन। उसका स्ट्राइकरहरु गोलका लागि संघर्ष गरिसकेका छन्। जसमा कप्तान किलियन एम्बाप्पेदेखि एन्टोइन ग्रिजमनसम्म छन्। उसले ओपन स्पेनबाट अलिहेसम्म गोल गर्न सकेको छैन।

फ्रन्टमा स्ट्राइकरहरुले राम्रो गर्न नसकेपनि डिफेन्डसमा फ्रान्स निकै बलियो देखिएको छ। फ्रान्सले सेमिफाइनल यात्रामा एकै मात्र गोल खाएको छ पोल्यान्डविरुद्ध । त्योपनि पेनाल्टीमा छ। विलियम सलिबा, डायोट उपमेकानो, जुल्स कुन्डे र थियो हर्नान्डेजको वाल तोड्न स्पेनिस स्ट्राइकरलाई निकै कठीन पर्ने छ।

स्पेन र फ्रान्स छैटौँ पटक मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ। यस्तै एक खेल भने बराबरीमा सकिएको थियो।

फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो। सन् १९९६ को युरोकपमा बराबरी भएको थियो।