कोपा अमेरिकामा उरुग्वे तस्रो भएको छ। अमेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उरुग्वे तेस्रो बनेको हो।
सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यनडा अर्जेन्टिनासँग पराजित भएपछि दुवैले तेस्रो स्थानका लागि खेलेका हुन्।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
पेनाल्टीमा उरुग्वेका फेडेरिको भाल्भार्डे, रोड्रिगो बेन्टान्कुर, जियोर्जियन डेनियल बेन्डिट र लुइस सुवारेजले गोल गरेका थिए। क्यानडाका जोनाथन डेभिड, मोइस बोमबिटो, म्याथ्यु चियोनिरेले मात्र गोल गरे। इस्मेल कोने र अल्फानोस डेभिस गोल गर्न असफल भएका थिए।
सुरुआती अग्रता उरुग्वेले लिएको थियो। आठौं मिनेटमा बेन्टान्कुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। २२औं मिनेटमा क्यानडाका स्मेल कोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
८०औं मिनेटमा क्यानडाले अग्रता लिएको थियो। उसका जोनाथन डेभिडले गोल गरेका थिए। तर, अतिरिक्त समयको दोस्रो मिनेटमा सुवारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले पेनाल्टीमा गोल गरेका थिए।
कोपा अमेरिकाको उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र कोलम्बिया आमने सामने हुनेछन् ।