वर्षा प्रभावित दोस्रो खेलमा जित निकाल्दै भारतले श्रीलंकाविरुद्धको टि–२० सिरिज १ खेल अगावै जितेको छ। पालेकेलेमा भएको खेलमा भारत ७ विकेटले विजयी भयो।
पहिला ब्याटिङ गर्दै श्रीलंकाले ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको भारतले १ ओभर पनि ब्याटिङ नसक्दै वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि डिएलएस मेथर्डबाट भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य पाएको थियो।
भारतले ७८ रनको लक्ष्य, ६।३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि यशश्वी जैसवालले १५ बलमा ३०, कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ र हार्दिक पाण्ड्याले ९ बलमा २२ रन बनाए।
बलिङमा श्रीलंकाका महिस थिक्साना, वानिन्दु हसरंगा र मथिसा पथिरानाले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले कुशल परेराको अर्धशतक मद्दतमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।। परेराले ३४ बलमा ६ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए। यस्तै, पाथुम निशंकाले ३२ र कामिन्दु मेन्डिसले २६ रन बनाउनु बाहेक अन्यले राम्रो योगदान दिन सकेनन्।
बलिङमा भारतका रवि विस्नोइले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने अर्शदीप सिंह, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान २ विकेट लिए।
३ खेलको सिरिजको अन्तिम खेल भोलि पाल्लेकेलेमै हुने छ। त्यसपछि दुई टिमबीच ३ खेलको एकदिवसीय सिरिज पनि हुनेछ।