ब्राजिल, स्पेन, अमेरिका र जर्मनी ओलम्पिक महिला फुटबलको सेमिफाइनलमा

4 Aug, 2024

पेरिसमा जारी ओलम्पिक अन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार राति भएको खेलमा ब्राजिल, स्पेन, अमेरिका र जर्मनीले जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो।

सेमिफाइनल यात्रा तय गर्ने क्रममा ब्राजिलले आयोजक फ्रान्सको चुनौती १–०ले पन्छायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ८२औं मिनेटमा ग्याब्रियलले गोल गरेकी थिइन्। त्यसअघि पहिलो हाफमै प्राप्त पेनाल्टीमा फ्रान्सकी सकिन कर्चावी चुकेकी थिइन्।

यता, स्पनेले भने २ गोलले पछि परेको अवस्था उल्टाउँदै कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–२ले हरायो। निर्धारितस समयको खेल २–२ को बराबरीमा सकिएको थियो।

१२औं मारिया रोड्रिग्वेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन्। ५२औं मिनेटमा लेसी सान्तोसले टिमको अग्रता दोब्बर बनाइन्।

तर, ७९औं मिनेटमा जेनी हेर्मोसोले गोल गर्दै स्पेनलाई खेलमा फर्काइन्। त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा इरेन पेरेडेसले गोल गर्दै स्पेनलाई हारबाट जोगाइन्।

यस्तै, जर्मनीले पनि क्यान्डालाई पेनाल्टी सुटआउटमै हराउँदै सेमिफाइनलमा पुग्यो। उसले क्यानडामाथि ४–२कै जित निकाल्यो। यी दुईबीचको खेलको निर्धारित समय र थप गरिएको समय गोलरहित बराबरीमा सकिएको थियो।

यता, अमेरिकाले भने जपानको चुनौती १–०ले पन्छायो। निर्धारिस समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट समय थप गरिएको थियो। थप गरिएको समयको पहिलो हाफको अतिरक्ति समयमा ट्रिन्टी रोडमनले गोल गर्दै अमरिकालाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा अमेरिका विजयी भयो।

अब सेमिफाइनलमा अमेरिका र जर्मनी भीड्ने छन् भने ब्राजिलले स्पेनको सामाना गर्नेछ। खेल आगमी मंगलबार राति हुनेछ।