एएफसी च्यालेन्ज लिग प्लेअफमा नेपालको ए डिभिजन लिग च्याम्पियन क्लब चर्च बोइज युनाइटेडले भुटानको पारो एफसीसँग खेल्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साउन २९ गते हुनेछ। त्यसका लागि आफूहरु तयार रहेको चर्च बोइजले जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै चर्च ब्वाईजले च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानाएको छ।
क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको भन्दै यसले दर्शकहरुको उपस्थिति उल्लेख्य रहने विश्वास व्यक्त गरे।
‘रंगशाला अन्तर्राष्ट्रिय अप्रुभलपछि लामो ग्यापपछि खेल हुँदैछ। समर्थकको उत्साहजनक सहभागिताको आशा छ,’ उनले भने, ‘नेपाली टिमले राम्रो गर्ने विश्वास लिएका छौं।’
च्यालेन्ज लिग प्लेअफका लागि चर्च बोइजले सान १ गतेदेखि अभ्यास थालेको थियो। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताए। टिमले राम्रो प्रदर्शन गर्ने अपेक्षा उनले गरे।
उनले पारो एफसी निकै राम्रो रहेको बताउँदै खेल प्रतिस्पर्धात्मक हुने बताए।
चर्च बोइज अनन्त तामाङको कप्तानीमा मैदान उत्रने छ। तर, उसँग लिग जित्दाको टिम भने हुनेछैन।