अर्जेन्टाइन अट्याकिङ मिडफिल्डर पाउलो डिबालाले अब साउदी अरेबियामा व्यवसायिक फुटबल खेल्ने भएका छन्। एक दशक बढी युरोपियन फुटबलमा बिताएका ३० वर्षीय डिबालाले साउदीमा व्यवसायिक फुटबल खेल्ने निर्णय गरेका हुन्।
उनी साउदी प्रो लिग क्लब अल कादसियामा आबद्ध भएका छन्। अल कादसियाले डिबालालाई इटालियन क्लब एएस रोमाबाट १५ मिलियन युरो खर्चिएर किनेको हो।
डिबालाले साउदी क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२७ सम्म त्यहाँ रहने छन्।
युभेन्ट्सबाट फ्रि ट्रान्सफरमा २०२२मा रोमा गएका उनले त्यहाँ ७७ खेल खेल्दै ३४ गोल गरेका छन्। पछिल्लो समय चोट सताएपछि उनले थुप्रै खेल गुमाएका छन्।
त्यसअघि उनले युभेन्टसमा ८ सिजन बिताएका थिए। युभेन्टसबाट २९३ खेल खेल्दै उनले ११५ गोल गरेका थिए।
यसै सिजन अल कादसियाले आर्सनल, चेल्सी र बार्सिलोनाको पूर्वस्ट्राइकर पिर्रे अमेरिका औमामियाङ, रियल मड्रिडका कप्तान नाचोलाई अनुबन्ध गरेको छ।