सगरमाथा यूथ क्लबले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि

26 Aug, 2024
Share:
117 Shares

अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ। सोमबार दिउँसो भएको फाइलनमा सलहेस यूथ क्लब सिरहालाई १–० ले हराउँदै सगरमाथाले उपाधि जितेको हो।

सगरमाथा युथ क्लबले खेलको सुरुआतमै अग्रता लिएको थियो। तेस्रो मिनेटमा उसका विजय भुजेलले गरेका थिए। खेलमा त्यसपछि थप गोल नहुँदा सगरमाथा विजयी भयो।

विजेता सगरमाथाले पाँच लाखसहित ट्रफी प्राप्त गर्दा उपविजेता सलहेसले २ लाख ५० रुपैयाँ र ट्रफी पायो।

विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरे। सो अवसरमा कोशी प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, खगेनसिं हाङ्गाम, निर्मला तावालगायत उपस्थित थिए।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टिम सहभागी थिए । लाखेजात्राका अवसरमा भदौ ३ गतेबाट प्रतियोगिता सुरु भएको थियो।

हरेक वर्ष लाखेजात्राका अवसरमा आयोजना हुँँदै आएको प्रतियोगिताले खेल पर्यटनको विकाससँगै जिल्लाको पहिचान थप बलियो हुँदै गएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।