सुआरेजको बिदाई खेलमा रोकियो उरुग्वे, कोलम्बियाले खेल्यो पेरुसँग बराबरी

7 Sep, 2024

विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे र कोलम्बिया दुवै टिम रोकिएका छन्। शनिबार बिहान भएकाे खेलमा उरुग्वे पाराग्वेसँग र कोलम्बिया पेरुसँग बराबरीमा रोकिएका हुन्।

उरुग्वेलाई उसकै मैदानमा पाराग्वेले गोलरिहत बराबरीमा रोक्यो। खेलमा पूर्णरुपमा दबाब बनाए पनि उरुग्वेले गोल भने गर्न सकेन। उसका डार्विन नुनेज, रोनाल्ड आरौजो, रोड्रिगो बेन्टानकुरलगायत खेलाडी प्रतिबन्धमा रहेका त्यसको असर खेलमा देखियो।

खेलअघि भेट्रान स्ट्राइकर लुइस सुआरेजको बिदाई गरिएको थियो। उनको यो उरुग्वेका लागि अन्तिम खेल थियो। उनले केही दिनअघि मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए। उनी उरुग्वेले अहिलेसम्म पाएको उत्कृष्ट स्ट्राइकर हुन्।

अर्को खेलमा कोलम्बियालाई पेरुले १–१को बराबरीमा रोक्यो। खेलमा कोलम्बियाले पूर्ण रुपमा दबाब बनाए पनि अग्रता भने पेरुले लियो। ६८औं मिनेटमा एलेक्जेन्डर कालेन्सले गोल गरेका थिए।

तर, ८२औं मिनेटमा लुइस डिजायले गोल गर्दै खेललाई १–१को बराबरी ल्याएका थिए। खेलमा त्यसपछि भने गोल हुन सकेन।

बराबरीपछि पनि उरुग्वे १४ अंकसहित दोस्रो स्थानमा हरँदा कोलम्बिया १३ अंकसहित तेस्रो स्थानमा छ। यस्तै, पाराग्वे ६ अंकसहित सातौं र पेरु ३ अंकसहित पुछारमा छ।