‘हिमालयन गानादा फुटसल गोल्डकप २०८१’ को उपाधि आयोजक टिम हिमालयन फुटबल क्लबले रक्षा गर्न सफल भएको छ।
चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा सम्पन्न फाईनल खेलमा ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सूटआउटमा ३ २ गोल अन्तरले पराजित गर्दै हिमालयन एफसीले उपाधि रक्षा गरेको हो।
निर्धारित २० मिनेटको समयमा १(१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा तेस्रो नम्बरमा गोल गर्न पुगेका ढुकुका खेलाडी चुक्दा हिमालयन एफसीले उपाधि चुम्यो। उपाधिसँगै गोल्डकप, विजयी मेडल र नगद २ लाख पुरस्कार आयोजकले नै राख्न सफल रह्यो।
विजयी टिमलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले ट्रफी, मेडल र चेक भौचर प्रदान गरेका थिए। यस्तै रनरअप बनेको ढुकुलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर र सविता राना मगरले संयुक्त रूपमा नगद १ लाख पुरस्कार र रनरअप मेडल प्रदान गरे।
प्रतियोगितामा हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए। गोलपोस्टको जिम्मा सम्हालेका दिपेशले प्रि क्वाटरमा टिमको लागि दुई गोल गर्न सफल भएका थिए भए फाइनल खेलको पेनाल्टीमा पनि विजयी गोल उनले नै गरेका थिए। उनले नगद १० हजार आफ्नो पक्षमा पारे।
यस्तै उत्कृष्ट खेलाडीको पुरस्कार ढुकुका अशोक मगरले हात पारे। उनले पनि समान १० हजार पाउँदा फेयरप्ले टिमको उपाधि मत्से फुटसलले जित्यो । बागमती फुटबल संघका उपाध्यक्ष राजिव मानसिंह बस्नेतले फेयरप्ले टिमलाई नगद २० हजार र ट्रफी प्रदान गरे।
नेपाली फुटसल इतिहासमै पहिलो पटक गोल्डकप आयोजना गरेको दाबी आयोजकको छ। समापन समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रिय टिमका पूर्व कप्तान खड्काले सर्वाधिक धनराशीको गोल्डकप आयोजना सम्पन्न गरेकोमा हिमालयन एफसीलाई बधाई दिँदै यो प्रकारको प्रतियोगिताले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताए।
समापन मन्तव्य राख्दै क्लबमा अध्यक्ष विनोद कार्कीले कार्यक्रम सम्पन्न गर्न आर्थिक भौतिक र हरेकपक्षबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो सफलताले भोलिको दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने उर्जा प्रदान गरेको बताए।
३२ टिम सहभागि प्रतियोगिता दुई दिनसम्म चलेको थियो । एन्फा उपाध्यक्ष दावा लामाले प्रतियोगिताको उद्घाटनसँगै बल हस्तान्तरण गरेपछि खेल सुरू भएका थिए।
हरेक वर्ष यो प्रकारको प्रतियोगिता र सामाजिक क्षेत्रमा गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएको छ । हिमालयन फुटबल क्लब र गानादा एजुकेसनल कन्सल्टेन्सीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो।