लाकेन लिम्बूले भारतमा व्यवसायिक फुटबल खेल्ने, आई लिग क्लब दिल्ली एफसीमा आबद्ध

16 Sep, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य लाकेन लिम्बूले भारतमा व्यवसायिक फुटबल खेल्ने भएका छन्। २२ वर्षीय युवा अट्याकिङ मिडफिल्डर लाकेनले भारतको आई लिग खेल्ने भएका हुन्।

भारतको दोस्रो डिभिजनको लिगका लागि लाकेनलाई दिल्ली एफसीले अनुबन्धन गरेको छ। उसले सामाजिक सञ्जालमार्फत लाकेनलाई अनुबन्धन गरेको जनाएको छ।

पछिल्लो सयम उत्कृष्ट प्रदर्शन गरिरहेका लाकेन नेपाली फुटबलका उदाउँदा स्टार हुन्। उनी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसका प्रिय खेलाडी थिए। एनेस लाकेनलाई विदेशी लिगमा खेल्न योग्य खेलाडी भएको बताउँथे।

उनी घरेलु फुटबलमा थ्री स्टारबाट व्यवसायिक फुटबल खेल्छन्। उनी सन् २०२१मा ए डिभिजन लिग खेल्ने सिंगापुरबाट नेपाल आएका थिए। झापा एफिसीबाट नेपाल सुपर लिग खेलेका उनले मछिन्द्र क्लब र चर्च बोइजबाट पनि खेलेका छन्।

उनले अघिल्लो महिना दशरथ रंगशालामा भएको एएफसी च्यालेन्ज कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीविरुद्ध चर्च बोइजबाट खेलेका थिए। सो खेलमा उनले चर्चा बोइजका लागि गोल पनि गरेका थिए।

उनले राष्ट्रिय टिममा भने अघिल्लो वर्ष मात्र डेब्यू गरेका थिए। फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमार्फत नेपालको जर्सीमा देखिएका उनी अहिले टिमका महत्वपूर्ण खेलाडीका रुपमा स्थापित छन्।