च्याम्पियन्स लिगमा बार्सिलोनालाई मोनाकोले दियो झट्का

20 Sep, 2024

स्पेनिस जाइन्ट बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनालाई फ्रेन्च क्लब मोनाकोले झट्का दिएको हो। १० खेलाडीमा समेटिएको बार्सिलोना मोनाकोसँग २–१ले पराजित भयो।

मोनाकोलाई जित दिलाउन माग्नेस अक्युस र जर्ज इलिनिकेनाले गोल गरे भने बार्सिलोनाका लमिन यमालले गोल गरेका थिए।

बार्सिलोना १०औं मिनेटमै १० खेलाडीमा समेटियो। मोनाका स्ट्राइक मिनामिनोलाई खराब ट्याकल गरेपछि बार्सिलोनाका डिफेन्डर इरिक गार्सियाले सिधै रातो कार्ड पाएका थिए।

त्यसको फाइदा मोनाकोले उठायो। १६औं मिनेटमा अक्यसुले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाए। २८औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। योसँगै उनी च्याम्पियन्स लिगमा गोल गर्दै दोस्रो कान्छो खेलाडी बनेका छन्। उनी १७ वषए ६८ दिनका भए। सन् २०१९मा बार्सिलोनाकै अन्सु फातीले १७ वर्ष ४० दिनमा गोल गर्दै कान्छो खेलाडीको कीर्तिमान बनाएका छन्।

पहिलो हाफ १–१को बराबरीमा सकियो। तर ७१औं मिनेटमा इलिनिकेनाले गोल गर्दै मोनाकोलाई खेलमा पुनः अग्रता दिलाए। त्यसपछि थप गोल नहुँदा मोनाको बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भयो।

यो बार्सिलोनाको सिजनको पहिलो हार हो। उसले ला लिगामा पाँचै खेल जितेको छ। च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना पराजित भएको यो तेस्रो खेल मात्र हो। यसअघि ऊ सन् १९९७–९८मा न्युकासल र २०२१–२२मा बायर्न म्युनिखसँग पराजित भएको थियो।

यस्तै अन्य खेलमा बेन्फिकाले सवेना वेज्डालाई २–१ले हराउँदा जर्मन च्याम्पियन बायर लेभरकुसनले फेयेनूर्डमाथि ४–०को फराकिलो जित निकाल्यो। यस्तै, ब्रेस्टले स्टुर्म ग्राजलाई २–१ले हरायो।