सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

मकवानपुरको एन्फा क्याम्पमा रहेका ६ खेलाडी सम्पर्कबिहीन, पहिरोमा पुरिएको आशंका

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा रहेको एन्फा क्याम्पमा रहेका ६ खेलाडी सम्पर्कबिहीन भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्द्रसरोबरको वत्सला माविमा आवासीय सुविधानसहित युथ–१४ क्याम्पमा ३७ खेलाडीलाई राखेको थियो। ती मध्ये ६ खेलाडी सम्पर्कबिहीन भएको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले बताए।

निरन्तरको वर्षापछि शनिबार बिहान खेलाडीहरुलाई होस्टलबाट सुरक्षित स्थानमा सार्न खोज्दा उनीहरू सम्पर्कबिहीन भएको लामाले बताए।

कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएको बताइएको छ। उनीहरू आफैं छाेटाे बाटाेबाट सुरक्षित स्थानमा जाँदै थिए।

अन्य खेलाडीहरू भने सुरक्षित रहेको उनले बताए। उनका अनुसार बेपत्ता हुनेमा मकवानपुरका अनुप घलान, सुमन योन्जन र दिवस बानियाँ, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी छन्।

1.3Kशेयर