च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड पराजित भएको छ। बुधबार राति भएको खेलमा रियल फ्रेन्च क्लब लिलसँग १–०ले पराजित भएएकाे हो।
लिलका लागि जोनाथन डेविडले पहिलो हाफको इन्जुरी टाइम पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। रियलका इडवार्डो कामाभिङ्भाले डिबक्समा ह्यान्ड गरेपछि लिलले पेनाल्टी पाएको थियो। र, त्यही गोल जितका लागि निर्णायक बन्यो।
यस सिजन लिगमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो। यस्तै २०२३ मेपछि च्याम्पियन्स लिगमा रियलको यो पहिलो हार हो।
लिल पहिलो खेलमा स्पोर्टिङ सिएफसँग पराजित भएको थियो। रियलले पहिलो खेलमा भिएफबी स्टुटगार्डलाई पराजित गरेको थियो। २ खेलबाट दुवै टोलीले समान ३ अंक छ।
यस्तै, मड्रिडकै अर्को क्लब एट्लेटिको पनि पराजित भयो। बुधबार राति नै भएको खेलका एट्लेटिकोलाई पोर्चुगिज क्लब बेन्फिकाले ४–०को फराकिलो अन्तरले हरायो। वेनफिकाका लागि केरेम अक्टुरकोग्लु, एन्जल डि मारिया, अलेजान्डर बाह र ओर्कुन कोक्चुले गोल गरे।
यस्तै अर्को खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्सले जर्मन क्लब आरबी लेइपजिगमाथि ३–२को पुनरागमन जित निकाल्यो। युभेन्ट्सका डुसान भ्लाहोभिचले २ तथा फेडेरिको कोन्सोसाओले गोल गरेका थिए भने लेइपजिगका लागि दुवै गोल बेन्जामिन सेस्कोले गरेका थिए।