एनपिएल अक्सनमा गुल्सनदेखि अनिलसम्म बने महँगा खेलाडी

7 Oct, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सन आइतबार सम्पन्न भएको छ। अक्सनमा ए ग्रेडमा रहेका अधिकांश खेलाडीमा अधिकतम बोली लाग्यो।

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको छ। ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरी २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको छ। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रहेको छ।

एनपिएलका लागि १० जनाभन्दा बढी खेलाडी १५ लाख रूपैयाँभन्दा बढीमा बिक्री भएका छन्।

ललित राजवंशी, सूर्य तामाङ, लोकेश बम, प्रतिश जिसी, शाहब आलम, सागर ढकाल, विवेककुमार यादव, अनील साह, आरिफ शेख, भीम सार्की लगायतका खेलाडीहरु १५ लाख भन्दा बढीमा बिक्री भएका छन्।

ती मध्ये केही यस्ता खेलाडीहरू पनि भए जसलाई भित्र्याउन सबै टिमहरुबीच प्रतिस्पर्धा चलेको थियो। अन्त्यमा लक्की ड्र मार्फत उनीहरू अनुबन्धित भएका छन्।

अनिलकुमार साहलाई भित्र्याउन टिमहरूबीच त्यस्तै प्रतिस्पर्धा चलेको छ। उनले १० लाख रूपैयाँ न्युनतम मूल्य १० लाख  रूपैयाँ राखेका थिए। उनलाई किन्न आठै टोलीले मूल्य लगाएका थिए। अन्तिममा लक्की ड्रमार्फत जनकपुरले भित्र्याएको हो।

जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्।

त्यस्तै अलराउन्डर गुल्सन झालाई पनि आफ्नो टिममा भित्र्याउन ७ टोलीबीच प्रतिस्पर्धा भएको थियो। लुम्बिनीबाहेक सबै टिमले उनीमाथि बोली लगाएका थिए। ए बरियताका खेलाडी तीन जना पुगिसकेका कारण लुम्बिनीले बोली लगाउन पाएन।

उनलाई १५ लाख दिन बाँकी ७ वटै टोली  तयार भएपछि लक्की ड्र मार्फत उनलाई कर्णाली याक्सले भित्र्याएको हो। सन्दीप जोरा पनि लक्की ड्रमार्फत लुम्बिनी लायन्समा पुगे।

उनलाई टिममा भित्र्याउन लुम्बिनी, पोखरा र चितवनबीच प्रतिस्पर्धा भएको थियो। तीनै टिम सन्दीपलाई भित्र्याउन १५ लाखसम्मको बोलीमा पुगेपछि लक्की ड्रमार्फत  लुम्बिनीले पाएको हो।

अर्का ब्याट्सम्यान भीम सार्कीलाई टिममा भित्र्याउन काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो। उनले एनपिएलका लागि आफ्नो मूल्य १० लाख राखेका थिए।

तीनै टोली उनलाई भित्र्याउन १५ लाखसम्मको बोलीमा पुगेपछि लक्की ड्र मार्फत भीमलाई काठमाडौं गोर्खाजले पाएको हो।

मध्यक्रमका ब्याटर आरिफ शेख पनि लक्की ड्र मार्फत सुदूरपश्चिम रोयल्सले पाएको छ।

उनलाई भित्र्याउन कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो। तीन टोली आरिफलाई उच्चतम मूल्य दिन तयार भएपछि लक्की ड्रमार्फत सुदूरपश्चिमले पाएको हो।

ललित राजवंशीलाई पनि जनकपुर बोल्ट्सले लक्की ड्रमार्फत भित्र्याएको हो।

यता लोकेश बमका लागि जनकपुरबाहेक सबैले बोली लगाएका थिए। जसमा विराटनगर किंग्सले गोलाप्रथाबाट टिममा आबद्ध गर्न सफल भयो।