ब्राजिलियन स्टार स्ट्राइकर भिनिसियस जुयिनरले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिगमा रियल मड्रिडले उत्कृष्ट पुनरागमन जित निकालेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोरुसिया डर्टमन्डमाथि ५–२को सानदार जित निकाल्यो।
रियललाई जित दिलाउन भिनिसियसको ह्याट्रिक अलावा लुकास भास्क्वेस र एन्टोनियो रुडिगरले गोल गरे। डर्टमन्डका डोन्यल मलान र जेमी बिनोइ गिटेन्सले गोल गरेका थिए।
खेलमा ३०औं मिनेटमा मलानको गोलमा डर्टमन्डले सुरुआती अग्रता लियो। ३४औं मिनेटमा गिटेन्सले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए। पहिलो हाफमा रियलले गोल फर्काउने प्रयास गरे पनि सकेन।
दोस्रो हाफमा भने रियल हावी भयो। ६०औं मिनेटमा रुडिगरले हेडिङमा गोल गर्दै रियललाई खेलमा फर्काए। लगत्तै ६२औं मिनेटमा भिनिसियसले गोल गरेपछि रियलले खेललाई २–२को अवस्थामा ल्यायो। त्यसपछि ८३औं मिनेटमा भास्क्वेसले गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए।
त्यसपछि एकल प्रयासमा भिनिसियसले ८६औं र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ५–२को सानदार पुनरागमन जित दिलाए।