पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका फास्ट बलर एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीका रुपमा फिलिपलाई अनुबन्धन गरेको हो।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डे लिडलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
अहिलेसम्म टि–२० आई नखेलेका २८ वर्षीय फिलिपले वेस्टइन्डिजबाट २ टेस्ट र ५ एकदिवसीय खेलेका छन्। जसमा उनले टेस्टमा ३ र एकदिवसीयमा ५ विकेट लिएका छन्।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनी फास्ट बलिङ अलराउन्डर बलर हुन्। १४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन्।
एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्।
टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए।
एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ।
एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।