भुटानविरुद्ध बंगलादेशले गर्‍यो गोलको वर्षा, महिला साफको फाइनलमा

27 Oct, 2024

डिफेन्डिङ च्याम्पियन बंगलादेश जारी महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार दिउँसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१को फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा पुगेको हो। 

बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन् भने कप्तान साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक–एक गोल गरिन्। 

खेलको सातौं मिनेटमै रितु चक्माले तोहुराको गोलमा बंगलादेशले अग्रता लियो । १५औं मिनेटमा सबिनाले टिमको अग्रता दोब्बर बनाइन् भने २६औं मिनेटमा सबिनाले नै गोल गरेपछि खेलमा बंगलादेशले ३–०को अग्रता लियो। ३५औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन्। 

३७औं मिनेटमा सबिनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बंगलादेशले ५–० को अग्रता बनायो। ४१औं मिनेट भुटानकी फरवार्ड देकी लाजोमले गोल गरिन् । जारी साफमा लाजोमको यो आठौं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन्।

दोस्रो हाफमा भुटानले केही सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन। ५७औं मिनेटमा तोहुरा खातुनले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

जारी साफ च्याम्पियनसिपमा यो चौंथो ह्याट्रिक हो। यसअघि नेपालकी रेखा पौडेल र प्रीति राईले माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । यस्तै भुटानकी देकी लाजोमले पनि माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन्।

७२औं मिनेटमा बंगलादेशका लागि सेउली अजमले सातौं गोल गरिन्।

अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्ने छ। नेपाल र भारतबीचको खेल केहीबेरपछि सुरु हुँदैछ।