महिला साफ : तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

27 Oct, 2024

नेपाल घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार दशरथ रंगशालामा भएको तानावपूर्ण खेलमा भारतलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा पुगेको छ।

३ घण्टा बढी चलेको खेलको निर्धारित समय १–१को बराबरी सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा नेपाल ४–२ले विजयी भयो।

निकै तनावपूर्ण बनेको खेल पटक–पटक अवरुद्ध भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै नेपाली टिमकी स्ट्राइकर रेखा पौडेलले रातो पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। रेखाले ५०औं मिनेटमा दोरोहो पहेँलो कार्ड पाएकी थिइन्।

सामान्य फाउलमा पनि रफ्रीले पहेँलो कार्ड दिएपछि नेपालले त्यसको विरोध गरेको थियो। त्यसपछि खेल केही बेर रोकिएको थियो।

खेल सुरु भएको केही समयपछि भारतले खेलमा अग्रता लियो। उसका ७१औं मिनेटमा भारतकी संगीता बासफोरको पासमा असलता देवीले गोल गरेकी थिइन्। सोही बल सेन्टरबाट चलाउने वित्तिकै नेपालल्े गोल गरेको थियो। तर, रेफ्री गोलको मान्यता नदिएपछि खेलमा तनावको वातावरण सिर्जना भएको थियो।

रेफ्रि बल चलाउन सिट्ठी बचाइसकेको अवस्थामा सावित्राले बल प्रिती राईलाई पास दिइन्। भारतीय खेलाडी अट्न्सन नभएको अवस्थामा गोल गरेकी थिइन्। तर, रेफ्रिले गोलको मायन्यता नदिएपछि खेल करिब १ घण्टा जति रोकिएको थियो।

खेल पुनः सुरु भएपछि १४०औं मिनेटमा सावित्राले काउन्टरमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। नेपालले गोल गरेपछि पनि खेल केही बेर रोकिएको थियो। त्यसपछि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा नेपालका लागि सावित्रा, गीता रानामगर, सबिता रानामगर, अमिशा कार्कीले गोल गरे। भारतका अशलता देवीको प्रहार पोस्टम लागेको थियो भने रञ्जना चानुको प्रहार गोलकिपर अञ्जना रानामगरले बचाएकी थिइन्।

अब नेपालले मंगलबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामाना गर्ने छ। बंगलादेश आजै भएको पहिलो सेमिफाइनलमा भुटानलााई ७–१ले हराउँदै फाइनल पुगेको हो।