दुई पटकको अग्रता जोगाउन नसक्दा आर्सन लिभरपुलसँग रोकियो

28 Oct, 2024
Share:
117 Shares

दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सन लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकियो।

शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो। लिभरपुल दोस्रो स्थानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । उता आर्सनल भने १८ अंकका साथ तेस्रो स्थानमा छ।

आर्सनलले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर मोहम्मद सलाहले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए।

आर्सनलका बुकायो साकाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए। तर, लिभरपुलका कप्तान भर्जिल भान डाइकले सेट–पिसको सदुपयोग गर्दै १८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए।

आर्सनलका लागि ४३ औं मिनेटमा मिकेल मेरिनोर्ले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमलाई डिफेन्सिभ खेल खेल्न निर्देशन दिएपछि आर्सनलले आफ्नो अग्रतालाई जोगाउने प्रयास गरिरहेको थियो।

तर खेलको ८१ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।