भिनिसियसले पेनाल्टी चुकाउँदा रोकियो ब्राजिल

15 Nov, 2024
Share:
117 Shares

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ। शुक्रबार बिहान भएको खेलमा स्टार स्ट्राइकर भिनिसियस जुनियरमा पेनाल्टीमा चुकेपछि ब्राजिल भेनेजुएलासँग १–१को बराबरीमा रोकिएको हो।

खेलमा ब्राजिलका राफिन्हाले गोल गरेका थिए भने भेनेजुएलाका टेलास्को सेगोभियाले गोल गोल गरेका थिए।

खेलमा सुरुआती अग्रता ब्राजिले लियो। उसका राफिन्हाले ४३औं मिनेटमा फ्रिकिकमा गोल गरेका थिए।

तर, दोस्रो हाफको सुरुआतमै भेनेजुएलालले बराबरी गोल फर्कायो। ४६औं मिनेटमा उसका सेगाभियोले गोल गरेका थिए। उनी दोस्रो हाफमा मैदान छिरेका थिए।

६२औं मिनेटमा ब्राजिलले अग्रता लिने अवसर पायो। तर, त्यसमा भिनिसियस जुनियरले गोल गर्न सकेनन्। भिनिसियसलाई नै भेनेजुएलाका किपरले लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो। उनको प्रहार गोलकिपरले रोकेका थिए। रिबाउन्डमा पनि उनले अवसर पाए पनि गोल भने गर्न सकेनन्।

८९औं मिनेटमा भेनेजुएला १० खेलाडीमा समेटिएयो। उसका अलेजान्डर गोन्जालेले सिधै रातोकार्ड पाएका थिए। तर, त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

छनोटमा ११ खेलमा १७ अंकसहित ब्राजिल तेस्रो स्थानमा छ। भेलेजुएला भने १२ अंकसहित सातौं स्थानमा छ। अर्जेन्टिना २२ अंकसहित शीर्ष स्थानमा छ।