नेपाली राष्ट्रिय महिला फुटबल टिम सम्मानित

24 Nov, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिम सम्मानित भएको छ। जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस–२०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको हो।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप–२०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो।

जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रंशसा–पत्रसहित १ लाख ३० हजार नगद प्रदान गरे।

संस्थापक अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरू प्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन्। उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउँदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो।