लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ।
आइतबार राति भएको खेलमा साउथह्याम्पटमाथि ३–२को पुनरागमन जित निकाल्दै लिभरपुलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको हो।
अंकतालिकामा लिभरपुलको १२ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको भने २३ अंक रहेको छ। साउथह्याम्पटन भने ४ अंकसहित पुछारमा छ।
लिभरपुललाई पुनरागमन जित दिलाउन मोहमद सलाहले २ गोल गरे भने डोमोनिक सोबोस्लाइले १ गोल गरे। साउथह्याम्पटनका लागि एडम आमस्ट्रोङ र मेटस फर्नान्डेसले गोल गरेका िथए।
खेलमा अग्रता भने लिभरपुलले लियो। उसका लागि ३०औं मिनेटमा सोबोस्लाइले गोल गरेका थिए। तर, ४२ औं मिनेटमा आमस्ट्रोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
५६औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली साउथह्याम्पटनले २–१ को अग्रता लियो।
त्यसपछि निराश भएका लिभरपुल समर्थकलाई सलाहले उत्साहित बनाएका थिए। उनले ६५औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए। ८३औं मिनेटमा पेनाल्टीमार्फत सलाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल विजयी भयो।
यस्तै, अर्को खेलमा नयाँ प्रशिक्षक रुबेन अमोरिमको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो। ऊ इपस्विच टाउनससँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको दोस्रो मिनेटमै युनाइटेडले अग्रता लियो। एसका मार्कस रास्फोर्डले गोल गरेका थिए। तर, ४३ औं मिनेटमा इप्सविच टाउनका लागि ओमारी हटिनसनले बराबरी गोल गरे।
प्रिमियर लिगमा युनाइटेड १२औं र इपस्विच १८औं स्थानमा छन्।