उद्घाटन खेलमा चम्किए ललित र मिलन्था, विराटनगरमाथि जनकपुरको जित

30 Nov, 2024
Share:
117 Shares

ललित राजवंशी र लहिरु मिलन्थाको उत्कृष्ट प्रदर्शन मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको एपिएपलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै विरानगरले दिएको १२८ रनको सामान्य लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जनकपुरलाई सहज जित दिलाउन श्रीलंकन मुलका अमेरिकी खेलाडी मिलन्थाले सर्वाधिक ७५ रन बनाए। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, हर्ष थाकरले ३३ बलमा २९ रन बनाए। मिलन्था र हर्षले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। नेपाली राष्ट्रिय टिमका ओपनरद्वय अनिल साह र आसिफ सेख भने सस्तैमा आउट भए। आसिफ डकआउट हुँदा अनिलले ५ रन बनाए।

बलिङमा विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान १ विकेट लिए।

कीर्तिपुरस्थित टियू मैदानमा टस हाररे पहिला ब्याटिङ गरेको विरानगर १९ ओभरमा १२७ रनमै अलआउट भयो।

विराटनगरका लागि न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा उसले ठूलो योगफल बनाउन सकेन । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

यस्तै, अकिब इलियासले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए भने किशोर महतो र हर्ष थाकरले समान २ विकेट लिए।

प्रतियोगितामा आइतबार भने कुनै खेल हुनेछैन। स्थानीय तहको उपनिर्वाचन रहेकाले भोलि खेल नभएको हो।