आर्सनल रोकियो, लेस्टरले ब्राइटनलाई रोक्यो

9 Dec, 2024

प्रिमियर लिगमा लन्डन क्लब आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनल फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा अग्रता पनि फुलहमले लियो। ११औं मिनेटमा उसका राहुल जिमिनेले काउन्टरमा उत्कृष्ट गोल गर्दै घरेल टिमलाई अग्रता दिलाए।

पहिलो हाफमा १–०ले पछि परेको आर्सनलले ५२औं मिनेटमा गोल फर्कायो। उसका लागि विलियम सलिबाले गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो।

यो बराबरीपछि आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाउने अवसर गुमाएको छ। आर्सनल २९ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको ३५ अंक छ। उसले एक खेल कम खेलेको छ। फुलहम भने २३ अंकसहित १०औं स्थानमा छ।

यस्तै, अर्को खेलमा रुडभान निस्टलरोयको टिम लेस्टर सिटीले उत्कृष्ट कमब्याक गर्दै ब्राइनसँग बराबरी खेलेको छ। खेलमा २ गोलले पछि परेको अवस्थामा अन्तिम ५ मिनेटमा २ गोल गर्दै लेस्टरले खेल बराबरीमा ल्याएको हो।

खेलमा ब्राइन्टनका तारिक लाम्पटीले ३७औं र यानकुबा मिन्टेहले ७९औं गोल गरे गर्दै टिमलाई २–०को अग्रता दिलाएका थिए। तर, ८६औं मिनेटमा जिमी भार्डीले गोल गर्दै लेस्टरलाई खेलमा फर्काएका थिए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा बबी डे कोर्डोवा रेइडले गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए।

अर्को खेलमा बोर्नेमाउथले इपस्विच टाउनलाई २–१ले हरायो।