बासिरको अलराउन्ड प्रदर्शनमा विराटनगरको जित, प्लेअफ सम्भावना कायमै

13 Dec, 2024
Share:
117 Shares

बासिर अहमदले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ। शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले चितवन राइनोजमाथि ५१ रनको फराकिलो जित निकाल्यो।

यो जितसँगै विराटनगरको प्लेअफ आशा कायमै छ। तर, त्यो त्यति सहज भने छैन । दोस्रो जितपछि ४ अंकसहित ऊ पाँचौं स्थानमा उक्लिएको छ। प्लेफमा पुग्न उसले अन्तिम खेल पनि फराकिलो अन्तरले जित्नु पर्ने छ भने चितवन अन्तिम खेलमा पनि पराजित हुनुपर्नेछ। यस्तै, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले बाँकी २ खेल मध्ये एउटा फराकिलो अन्तरले पराजित हुनुपर्नेछ।

६ अंकसहित चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफमा पुग्ने अन्तिम खेल जित्नै पर्ने हुन्छ।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १८२ रनको ठूलो लक्ष्य पछ्याएको चिवतनले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो।

उसका लािग अमरसिंह रौटेलाले सर्वाधिक ४२ रन बनाउँदा सन्तोष कार्कीले २८, रवि बोपराले २० र कुशल मल्लले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंमा स्कोर बनाउन सकेनन्।

बलिङमा विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिँदा क्रिस सोल बासिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान १ विकेट लिए।

त्यसपछि पहिला ब्याटिङ गरेको विराटनगरले ५ विकेटको क्षतिमा १८१ रन बनायो। पहिलो ओभरमै २ विकेट गुमाएपनि मार्टिन गप्टिल र बासिरले विराटनगरको इनिङ उकासेका थिए। बासिरले सर्वाधिक ४४ रन बनाए। उनले ४४ बलमा समान ४ चौका र छक्का प्रहार गरे।

यस्तै, गप्टिलले ३५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। अन्त्यतिर राजेश पुलामी मगरले पनि २० बलमा १ चौका र ३ छक्का मद्दतमा ३३ रन बनाए। विराटगनरका लागि पाँचौं विकेटका लागि गप्टिल र बासिरले ६५ र छैठौं विकेटका लागि बासिर र राजेशले ८३ रनको साझेदारी गरेका थिए।

बलिङमा चिवनका रिजन ढकालले २ तथा सोहेल तनवीर, बासिल हमिद र कुशल मल्लले समान १ विकेट लिए।