सद्भाव बने सूर्य नेपाल काठमाडौं ओपनको च्याम्पियन  

14 Dec, 2024

एमेच्योर गल्फर सदभाव आचार्यले अन्तिम दिनको खेलमा बाजी मार्दै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि जितेका छन् । उनले डिफेन्डिङ च्याम्पियन प्रो नीरज तामाङलाई दुई स्ट्रोकले हराएका थिए। 

सूर्य नेपाल गल्फ टुर २०२४र२५ को यो दोस्रो प्रतियोगिता हो । सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन्।

उनले शुक्रबार ६ अन्डर ६२ को सानदार स्कोरमा एमेच्योर सद्भावले समग्रमा १५ अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए। उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४ अन्डर २५८ को रेकर्ड तोडेका हुन्।

उपाधि जोगाउने दाउमा रहेका नीरजले ३ अन्डर ६५ सहित समग्रमा १३ अन्डर २५९ को स्कोरको कार्ड बनाए। दोस्रो भएका उनले प्रोतर्फ भने पहिलो स्थान हासिल गर्दै १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाए। दिनेश प्रजापति अन्तिम दिन ३ अन्डर ६५ स्कोर बनाउँदै समग्रमा ८ अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार रुपैयाँ हात पारे ।

एमेच्योर राहुल बिके समग्रमा ६ अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४ अन्डर ६४ स्कोर बनाए । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ दोस्रो भए । नेपाल नम्बर एक प्रो भुवनले शुक्रबार ४ अन्डर ६४ सहित समग्रमा ४ अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार जिते । विष्णुप्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३ अन्डर २६९ को स्कोरमा संयुक्त छौटौं स्थान बाँडे । विष्णुले ३ ओभर ७१ मा खेल सके ।

पहिलो दिनका लिडर जयरामले शुक्रबार ६ अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३ देखि १८ औं होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे। समग्रमा इभन पार ७२ सहित सञ्जय लामा आठौं, २ ओभर २७४ सहित दीपक मगर नवौं र ३ ओभर २७५ सहित तोरणविक्रम शाही क्रमशः आठौं, नवौं र दसौं भए । सञ्जयले ४ अन्डर ६४, दीपकले ३ ओभर ७१ र तोरणले ३ अन्डर ६५ बनाए । उनीहरूले क्रमशः ४५ हजार, ३८ हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे ।

सद्भाव अन्तिम दिन खेल सुरु गर्दा नीरजभन्दा एक स्ट्रोकले पछि थिए। फ्रन्टनाइनको खेल सकिँदा नीरजसँग एक स्ट्रोकको अग्रता थियो । दुवैले फ्रन्टनाइन ४ अन्डर ३० मा सके । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। नीरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे।

११ औं होल टर्निङ प्वाइन्ट बन्यो। सद्भावले बर्डी प्रहार गरे भने नीरजले बोगी खेले। सद्भावले एक स्ट्रोकको अग्रता बनाए। उनले १३ औं होलमा पनि एक शट बचाएसँगै दुई स्ट्रोकको अग्रता लिए। 

यही अग्रता निरन्तरता दिँदै सद्भावले ब्याकनाइन २ अन्डर ३२ मा सकेर उपाधि जिते । नीरजले भने ब्याकनाइन १ ओभर ३५ मा पूरा गरे । सद्भावले बोगीरहित प्रदर्शन गरेका थिए 

दिनेशले फ्रन्टनाइन २ अन्डर ३४ मा खेले । पहिलो, चौथो, पाँचौं र आठौं होलमा एक–एक शट बचाए । तर, सातौं होलमा डबल बोगी खेपे । यसपछि १४ औं होलको बोगीविरुद्ध १० र १३ औं होल बर्डीले ब्याकनाइन १ अन्डर ३३ मा सके। 

विजेतालाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कृत गरे।