खो खो विश्वकपको उपविजेता नेपाली खेलाडीले जनही ४५ लाख पाउने, टिमका अन्य सदस्यले कति पाउँछन्?

21 Jan, 2025
Share:
117 Shares

खो खो विशवकपको पहिलो संस्करण भारतमा आइतबार सकिएको छ। जसमा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरे।

नेपालका पुरुष र महिला दुवै टिम फाइनल पुगेका थिए। तर, फाइनल नेपालका दुवै टिम भारतसँग पराजित हुँदै उपविजेता बनेका थिए।

पहिलो संस्करणमै उपविजेता बनेको नेपाली टिम सोमबार नै नेपाल फर्किुसकेको छ।

नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले पुरस्कार स्वरुप जनही ४५ लाख रुपैयाँ पाउने भएका छन्। राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएबमोजिम खेलाडीले सरकारबाट सो पुरस्कार पाउने छन्।

ओलम्पिक, एसियाली, दक्षिण एसियाली खेलकुद तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अन्य खेलकुद प्रतियोगितामा पदक जित्नेलाई प्रदान गरिने पुरस्कार रकम तोकिएको छ। जसमा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महासंघ (आईएफ) विश्व च्याम्पियनसिपमा रजत विजेता खेलाडीले जनही ४५ लाख पाउने व्यवस्था छ। स्वर्ण जित्नेले ५२ लाख पाउने व्यवस्था छ।

सोही नियम अनुसार दुवै टिमका प्रशिक्षकले जनही ७ लाख ८० हजार रुपैयाँ पाउने छन् भने सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोको जनही ३ लाख ९० हजार रुपैयाँ पाउने छन्। यस्तै, खो खो संघको १५ लाख ६० हजार रुपैयाँ पाउने छन्।

सोमबार विमानस्थालमा नेपाली टिमलाई स्वागत गर्दै सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएबमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताए । त्यसका लागि १५ दिनभित्र आवश्यक कागजात पेस गर्न खो–खो संघलाई निर्देशन दिएका छन्।