कबड्डी लिगमा काठमाडौं माभरिक्सको दोस्रो जित

22 Jan, 2025
Share:
117 Shares

नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौं माभरिक्सले दोस्रो जित हात पारेको छ। मंगलबार भएको खेलमा हिमालयन रेडर्सलाई ५६–३४ को फराकिलो अन्तरमा हराउँदै दोस्रो जित हात पारेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो।

पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो । १८ अंक ट्याकलबाट मात्र जोड्दा पहिलो हाफमा काठमाडौंले ३६–१३ को सानदार अग्रता बनायो।

दोस्रो हाफमा पनि हिमालयन निरिह बन्यो । स्कोर जोडिरहन सफल काठमाडौंले चौथो पटक दोस्रो हाफमा हिमालयनलाई अल आउट गर्यो । दोस्रो हाफमा एक पटक भने हिमालयनले काठमाडौंलाई अल आउट गरेको थियो।

काठमाडौंले बनाएको ५६ स्कोर जारी लिगको सर्वाधिक स्कोर पनि बनेको छ । यसअघि धनगढी वाइल्ड क्याट्स विरूद्ध विराटनगर ब्यान्डिट्सले ४६ स्कोर गरेको थियो।

तेस्रो खेलमा दोस्रो जित सहित काठमाडौंले ११ अंक बनाएको छ । हिमालयन रेडर्सको यो दोस्रो हार हो। टोलीको ५ अंक छ।