सभापति कपको फाइनल आज, उपाधिका लागि संकटा र बागमती भिड्दै

30 Jan, 2025
Share:
117 Shares

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको सभापति कपको आज (बिहिबार) फाइनल खेल हुँदैछ। फाइनलमा ए डिभिजन टिम संकटा क्लब र बागमती (नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश) दशरथ रंगशालामा भिड्दैछन्।

संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए। संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको बताएका छन्।

बागमती‌का कप्तान विकेश कुथुले संकटा राम्रो टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताएका छन्। विपक्षीलाई कमजोर नठान्ने पनि उनले प्रष्ट पारे।

बागमतीका प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको बताएका छन्।

सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबलाई सडनडेथमा र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

प्रतियोगिताको च्याम्पियनले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७५ हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार र उदीयमान खेलाडीकले २५ हजार रुपैयाँ पाउनेछन्।

फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ। फाइनल अघि रंगशालामा झाँकीसहितको प्रस्तुति रहने आयोजकले जनाएको छ।