लगातार तेस्रो जित निकाल्दै नेपाल नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुगेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार साउदी अरेबियालाई ५ विकेटले हरायो।
क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमै ५ विकेटको क्षतिमा भेट्टायो। यसअघिका दुई खेलमा नेपालले नेपालले बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४४ रन बनाउँदा इशान पाण्डेले ४० र देव खनालले ३९ रनको योगदान दिए। बलिङमा साउदीका इस्तियाक अहमद र मुहम्मद अतिफले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा अलआउट भयो। उसका ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बल खेली १० चौका र २ छक्का प्रहार गरे।
नेपालबाट कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चे। नेपाली स्पिनरको नाममा ९ विकेट रहयो। सन्दीप बाहेक दीपेन्द्रले ३ र ललितले २ विकेट लिए।
अब नेपालले समूहको अन्तिम खेल मंगलबार हङकङसँग खेल्ने छ।
