‘क्याप्टेन कुल’को सन्न्यासको अर्थ

महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनेछन् वा छैनन् । लिए पनि कहिले लिनेछन्, त्यसलाई लिएर पूरा अन्योल थियो । अब धेरैले यी अन्योलतालाई सम्झने छैनन्, बिर्सनेछन् । अब एउटै तथ्यमात्र के निश्चित छ भने धोनीले भारतीय मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमै जुन योगदान दिए, त्यसमा उनका प्रशंसकलाई गर्व हुनेछ । खालि यिनै सानातिना गुनासो मात्र हुनेछन्, धोनीले केही समयअगाडि नै संन्यास लिनुपर्ने थियो कि ?

अथवा आफ्नो संन्यासबारे छाएको अन्योल अवस्था धोनीले यसअघि नै चिर्नुपर्ने थियो ? एक अर्थमा अब यसको पनि अर्थ रहने छैन । आखिरमा धोनीको काम त होइन, आफ्नो संन्यास घोषणा गरेर सबैलाई सजिलो बनाइदिने । धोनी रहेसम्म आफ्नो खेलजीवन अगाडि बढ्ने छैन भनेर कुरिरहेकाहरूका लागि त धोनीले चाँडै संन्यास घोषणा गरेर बाटो सफा गरिदिनु त आवश्यक थिएन । तर शनिबार राति के निश्चित भएको छ भने उनले अब भारतका लागि खेल्ने छैनन् ।

यसको अर्थ उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा भने खेलिरहनेछन् । आखिरमा आईपीएल नै त्यस्तो प्रतियोगिता हो, जसमा खेल्न धोनीलाई मज्जा आउँछ अनि उनको टिम चेन्नई सुपरकिंग्स प्रायः फाइनल पनि पुग्छ र बारम्बर उपाधि पनि जित्छ । जे जस्तै भनेपछि धोनीले ९० टेस्ट, ३ सय ५० एकदिवसीय र ९८ ट्वान्टी–२० क्रिकेट खेल खेले । यत्तिको खेल खेल्ने खेलाडीले अब खेल्दिनँ भन्दा त उनको खेल प्रशंसकले गुमाउने त निश्चित छ ।

खासमा उनी भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । उनकै नेतृत्वमा त हो, भारत नम्बर एक बनेको अनि भारतले सन् २०११ मा २८ वर्षको अन्तरपछि पहिलोपल्ट एकदिवसीय विश्वकप जितेको । सन् २००७ मा भारतले ट्वान्टी–२० विश्वकप जित्दा पनि कप्तान उनी नै थिए । त्यही प्रतियोगिता जितेपछि त हो भारतमा आईपीएलको सोच स्थापित भएको । भारतको त्यो सफलताले नै त हो, ट्वान्टी–२० क्रिकेटले खुबै लोकप्रियता पाएको ।

सेतो बलमा उनी सर्वकालीन महान् खेलाडी हुन् । उनी ८४ अवसरमा सेतो बलको खेलमा नटआउट रहे, त्यसैले एकदिवसीय क्रिकेटमा उनको औसतले ५० रनभन्दा माथि छुन्छ । उनीभन्दा खालि रिकी पोन्टिङको अस्ट्रेलियाले मात्र बढी खेल जितेको छ । अझ ट्वान्टी–२० क्रिकेटमा त उनी धेरै अगाडि छन् । धोनीले जति ट्वान्टी–२० क्रिकेटमा कसैले बढी नेतृत्व गरेका छैनन् अनि उनले जत्तिकै बढी जित कसैले पाएका छैनन् ।

धोनीले टेस्ट क्रिकेटमा भने ६० पल्ट भारतको नेतृत्व गरे । यसमा भने भर्खरैमात्र उनलाई विराट कोहलीले उछिनेका छन् । धोनी कति ठूला क्रिकेट खेलाडी हुन्, यसको छिनोफानो गर्ने औचार आखिरमा तथ्यांक मात्र होइन । उनी त्योभन्दा पनि ठूला खेलाडी हुन् । उनको उदय त्यो भारतीय सहरबाट भयो, जहाँबाट यसअघि यस्तो अपेक्षा थिएन । त्यो भनेको राँची सहर । सौरभ गांगुलीले यस्तो कामको सुरुआत गरेका थिए, त्यसलाई धोनीले अझ अगाडि बढाए ।

नत्र भारतीय क्रिकेटमा खास–खास पारम्परिक सहरको मात्र वर्चस्व थियो । फेरि यसअघि भारतीय क्रिकेटमा त्यस्ता कप्तान हुन्थे, जसको परिवार कुनै समय भारतीय राजघराना हुने गर्थे । त्यसपछि ठूला सहरका मध्यमवर्गले पनि भारतीय टिममा स्थान पाउन थाले । धोनीको पालादेखि सामान्य सहरका प्रतिभाले पनि ठूलो अवसर पाउन थाले । यो परम्परालाई स्थापित हुनमा धोनीको ठूलो हात छ । यो त भारतीय समाज परिवर्तन हुँदै छ भन्नेको संकेत पनि त हो ।

सचिन तेन्दुलकरले टेस्ट क्रिकेटमा डेब्यु गर्दा धोनी खालि ८ वर्षका थिए । पछि यिनै तेन्दुलकरले भने, ‘धोनीजस्ता खेलाडी अगाडि आएकोमा म खुसी छु । उनी निकै सन्तुलित खेलाडी हुन् र उनको क्रिकेट दिमाग निकै उच्चस्तरको छ ।’

जतिबेला धोनी भारतीय क्रिकेट टिममा प्रवेश गरे, उनी अगाडिका लगभग सबै खेलाडीले उनलाई खुसीले स्विकारे । यसले पनि देखाउँछ, धोनीको उपयोगिता । उनले आफूभन्दा अगाडिका कप्तानबाट पनि सिक्ने अवसर पाए । जस्तो, धोनीले राहुल द्रविडको नेतृत्वमा १९ टेस्ट खेले अनि अनिल कुम्बेलेको नेतृत्वमा १० टेस्ट । दक्षिण भारतीय राज्य कर्नाटकका यी दुई खेलाडीले भारतीय क्रिकेटमा स्थायित्व ल्याएका थिए । उनीहरूले प्रत्येक खेलाडीका लागि फरक–फरक व्यवस्थापन हुनुपर्छ भन्ने सोच पनि अगाडि बढाए । त्यसैले धोनी पनि यत्तिसम्म भन्ने भएका थिए, ‘मलाई एउटा टिमको आवश्यकता हो, क्रिकेटमा टिम चल्ने हो, व्यक्तिगत खेलाडी होइन ।’

भारतीय टिममा उनले १५ वर्ष बिताए । ५ सय ३८ अन्तर्राष्ट्रिय खेल खेले । त्यसमा उनले बनाएको रनसंख्या १७ हजारभन्दा माथि रह्यो । उनको औसत ४५ रनको हाराहारीमा थियो अनि स्ट्राइकर रेट ८० रनको छेउछाउ । विकेटकिपरका रूपमा उनले ६ सय ३४ क्याच लिए अनि उनले गरेका स्टम्पिङको संख्या १ सय ९५ रन रह्यो । उनीभन्दा बढी खेल खेल्ने क्रिकेट इतिहासमै पाँच खेलाडी मात्र रहे, विकेटकिपर त खालि एकमात्रै ।

त्यसमध्ये कप्तानी गर्नेमा त उनी नै अगाडि रहे । धोनी कस्ता खेलाडी हुन्, त्यो पक्कै पनि तथ्यांकभन्दा माथि छ । उनको ‘लिगेसी’ भारतीय क्रिकेटबाट कहिले पनि मेटिने छैन, किनभने उनले यसमा अमिट छाप छाडेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि उनी उच्चकोटीका खेलाडी हुन् । धोनीलाई लिएर सबैभन्दा ठूलो तथ्य के भने उनको आगमन र संन्यासबीचको समयले भारतीय समाजमा आएको सबैखाले परिवर्तनलाई प्रतिनिधित्व गर्छ । उनले सन्यास लिनुको अर्थ त्यसलाई पछडि फर्केर बुझ्नु नै हो ।

(साभारः कान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *